Headlines News :
Home » » सञ्चारमन्त्रीले भने-एनआरएनलाई दोहोरो नागरिकता दिन मिल्दैन

सञ्चारमन्त्रीले भने-एनआरएनलाई दोहोरो नागरिकता दिन मिल्दैन

अमेरिकामा रहेका प्रधानमन्त्री सुशील कोइरालाले एकपटकको नेपाली सधैँको नेपाली हुने गरी ब्यबस्था गर्न लागिएको बताइरहेका बेला उनकै सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले भने एनआरएनलार्इ दोहोरो नागरिकता दिन नसकिने बताएका छन् ।
नेपाली जसम्पर्क समिति बेलायतले लण्डनमा गरेको कार्यक्रममा मन्त्री रिजालले एनआरएनलाई दोहोरो नागरिकता दिन नमिल्ने बताएका हुन् ।
एनआरएनलाई दिँदा सकरात्मक र नकरात्मक दुबै प्रभाव पर्ने बताउँदै मन्त्री रिजालले अहिलेको अवस्थामा माग गरेकै भरमा दोहोरो नागरिकता दिन सम्भव नभएको बताए । ‘गैरआवासीय नेपालीलाई नेपालीमूलको परिचय खुल्ने गरी राजनीतिकबाहेक अन्य अधिकारसहितको ब्यवस्था गर्ने सहमति भइसकेको छ’, मन्त्री रिजालले भने, ‘बिदेशबाटै मतदानको ब्यवस्था गर्न प्राविधिक समस्या हुन्छ, विदेशबाटै मतदाता नामावलीमा नाम लेखाउने ब्यवस्था भने गर्न लागिएको छ।’
फरक प्रसंगमा बोल्दै मन्त्री रिजालले मंसिरमा स्थानीय निर्वाचन गर्न नसकिने बताए । माघ ७ सम्म संविधान बनाउने कार्यतालिका बनिसकेको अवस्थामा मंसिरमै स्थानीय निर्वाचन सम्भव नहुने मन्त्री रिजालको भनाइ थियो । ‘स्थानीय निर्वाचन गर्ने हाम्रो चाहाना हो, तर चुनाव हार्ने डरले एमाओवादी निर्वाचन होस् भन्ने चहान्छ’, मन्त्री रिजालले भने, ‘एमाओवादीले स्थानीय निर्वाचनमा जान्न भनिरहेको अवस्थामा जर्वजस्ती चुनावमा जाँदा राजनीतिक वातावरण बिग्रने खतरा छ । त्यही कारण मिति तोक्न सकिएको छैन ।’
पूर्ववर्ती सरकारले शान्ति प्रकृया टुंगोमा पुयाउन नसकेको अवस्थामा सरकारले त्यसलार्इ टुंगो दिएको बताउँदै मन्त्री रिजालले संविधानसभालाई कार्यतालिकका अनुरुप अगाडि बढाउन सरकार सफल भएको दावी गरे । ‘सरकारसँग कुनै जादूको छडी छैन’, मन्त्री रिजालले भने, ‘अहिलेको सरकारको कामबाट अन्तर्राष्ट्रिय समुदायसमेत सन्तुष्ट छन् ।’
कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योगेन क्षेत्रीले नयाँ संविधानमा नेपालीको हकाधिकार सुरक्षित हुनुपर्ने उल्लेख गरे । उनले विदेशमा रहेका नेपालीको नागरिकताको अधिकार मानवअधिकारमा पर्ने बताउँदै लोकन्त्रिक संविधानभित्र सबैको अधिकार सुरक्षित हुँदा गैरआवासीय नेपालीको नागरिकता सुरक्षा हुनुपर्ने तर्क गरे ।
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९१औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा कांग्रेसका युवा नेता विश्वआर्दश पण्डित, लोक गुरुङ, तस्विर लामा र शिवजी श्रेष्ठलगायतले बोलेका थिए ।
मन्त्री डा. मिनेन्द्र रिजाल लण्डनमा आयोजना हुने सूचना प्रविधिसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन शनिबार लण्डन आइपुगेका हुन् । उनीसँग सूचना तथा सञ्चार मन्त्रालयका सह-सचिव कविराज खनाल पनि छन् । सम्मेलनमा विभिन्न देशका सूचना तथा सञ्चारमन्त्रीहरू सहभागी हुने बताइएको छ ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts