Headlines News :
Home » » जाजरकोटका गुफा ओझेलमा

जाजरकोटका गुफा ओझेलमा

जाजरकोटको साङटा गुफा ।
खलंगा - जाजरकोट सदरमुकाम खलंगा नजिकका तीन वटा गुफा अध्ययन, प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा परेका छन् ।

अध्ययन र प्रचारका लागि स्थानीय युवा क्रियाशील रहे पनि ती गुफाको यथोचित विकास हुन नसकेको हो । 'आफ्नै गाउँघरमा पर्यटक आकषिर्त गर्न सक्ने गुफा र मनोरम स्थल भए पनि संरक्षण र प्रचार हुन नसकेकाले संरक्षणमा जुटेका हौं,' खलंगा ८ मैदेस्थित सेतो गुफा संरक्षण समितिका कर्णबहादुर रानाले भने ।

गुफा संरक्षणका लागि खलंगा गाविसले चालु आर्थिक वर्षमा २० हजार रकम उपलब्ध गराएको छ । उक्त गुफामा हजारौं चमेरा बास बस्ने भएकाले चमेरे गुफा पनि भनिन्छ । तिब्बतबाट लामाहरू भारत भाग्ने क्रममा बौद्ध मन्दिरका रूपमा गुफामा पूजाआजा गर्ने गरेको स्थानीय झिपे कामीले बताए ।

संरक्षण समितिले पहिलोपटक स्थानीय सञ्चारकर्मीलाई उक्त गुफाको अवलोकन गराएको छ । गुफाको अर्को द्वार वडा ९, साउनेपानीस्थित ७ किमि टाढाको दुलेगुफा रहेको स्थानीय ढकवीर रानाले बताए । तत्कालीन जाजरकोटी राजाको सिकार खेल्ने कुकुरले मृग लखेट्दै दुले गुफाबाट पसेर मैदेको सेतो गुफामा निस्केपछि यो गुफा पत्ता लागेको स्थानीयले बताएका छन् ।

खलंगा ६ कै सिद्धबाबा बसेको ऐतिहासिक साङटा गुफा पनि प्रचारप्रसार अभावले ओझेलमा परेको छ । १७०० सालताका जाजरकोटी राजाले गुरु मानेर पूजाआजा गर्ने सिद्धबाबालाई रिझाउन राजा हरि शाह र उनका सन्तानले दरबारमै बस्न गरेको आग्रहलाई इन्कार गर्दै सिद्धबाबाले यसै गुफालाई आफ्नो ध्यान स्थल बनाएको स्थानीय बुढापाकाले बताए ।

गुफाको संरक्षण गर्न पर्यटन मन्त्रालय र जिल्ला विकास समिति, गाविसले पटकपटक गरी १० लाख रकम प्रदान गरिसकेको छ । उक्त रकमले भक्तजनले भजन गर्ने घर र गुफासम्म पुग्न सिंढी निर्माण गरिएको छ । पुरातत्त्व विभागमा सूचीकृत दशेरा फाल्मा गुफा पनि संरक्षण अभावमा अलपत्र छ । पर्यटन बोर्डबाट प्राप्त रकमले गुफा संरक्षणका लागि पर्खाल निर्माण गरिए पनि प्रभावकारी नभएको पूर्वजिविस सभापति धनबहादुर अधिकारीले बताए ।

जिल्लाका विभिन्न ५ ठाउँमा पर्यटकको मनै लोभ्याउने गुफा छन् । सबै गुफाको पहिचान पहिले नै भए पनि चर्चामा आउन सकिरहेका छैनन् । विभिन्न ठाउँमा रहेका गुफामा दशेरा गाविस फाल्माको बाङकोट गुफा, डाँडागाउँ छेप्काको त्रिवेणी गुफा, खलंगा ५ को साङट गुफा ९ को भुन्या गुफा र ८ को मैदेमा बौद्धचमेरे गुफा छन् ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts